ई–कमर्ससम्बन्धी तीनदिने तालिम – काठमाडौं उपत्यकाका तीन नगरपालिका – शंखरापुर , चन्द्रागिरी , र काठमाडौं महानगरपालिका

२०८२ जेष्ठ २८ देखी असार ०७ – यस संघले उद्योग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वरको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न तीन स्थान—शंखरापुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, र काठमाडौं महानगरपालिका—मा “ई–कमर्ससम्बन्धी तीनदिने तालिम”हरू सफलतापूर्वक सम्पन्न गरिएको थियो ।लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रविधिमैत्री बनाउँदै उनीहरूको व्यवसायलाई डिजिटल माध्यमबाट विस्तार गर्न, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, रोजगारी सिर्जनामा टेवा पुर्याउन र अनलाइन व्यापारमा संलग्न गराउन तालिमको आयोजना गरिएको थियो ।पहिलो तालिम २०८२ जेष्ठ २८–३० गते साक्वो रिसोर्ट, शंखरापुरमा शंखरापुर उद्योग वाणिज्य संघको विशेष सहकार्य सम्पन्न भयो, जसको उद्घघाटन नगरप्रमुख श्री रमेश नापितले गर्नुभयो भने उपप्रमुख श्री समिता श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष श्री राधाकृष्ण श्रेष्ठ विशेष अतिथि हुनुहुन्थ्यो । सो तालिमको समापन उपप्रमुख श्री समिता श्रेष्ठले गर्नुभएको थियो ।दोस्रो तालिम २०८२ असार १–३ मा चन्द्रागिरी नगरपालिका अन्तर्गत बलम्बुस्थित ‘चटामरी द नेवारी रेस्टुरेन्ट’मा सम्पन्न भयो, जसको उद्घघाटन नगरप्रमुख श्री घनश्याम गिरी र उपप्रमुख श्रीमती बसन्ति श्रेष्ठले गर्नुभएको थियो ।सो तालिमको समापन उपप्रमुख श्रीमती बसन्ति श्रेष्ठ ले गर्नुभएको थियो ।तेस्रो तालिम २०८२ असार ५–७ मा डिगम्बरा रिजेन्सी होटल, ज्याथा, काठमाडौं महानगरपालिका वडा नं. २७ मा सम्पन्न भयो, जसको उद्घघाटन उद्योग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वरका प्रमुख अधिकृत श्री यादवनाथ आचार्यले गर्नुभएको थियो । तीनै तालिमहरूमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका निवर्तमान अध्यक्ष श्री सिता कार्की र नेउवामहासंघ बागमती प्रदेशका घरेलु तथा साना उद्योग समिति सभापति श्री लक्ष्मी खनालको विशेष सहयोग थियो । तीन स्थानमा क्रमशः ७४, १०५ र ७३ जना सहभागीहरूले प्रशिक्षण प्राप्त गरे, जसमा वेबसाइट सञ्चालन, सामग्री अपलोड, अनलाइन भुक्तानी प्रणाली, तथा सामाजिक सञ्जालमार्फत व्यापार प्रवद्र्धन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सीप प्रदान गरियो । सहभागीहरू उत्साहित र सक्रिय देखिएका थिए र अधिकांशले तालिमबाट सिकेका सीपहरू तत्काल व्यवसायमा प्रयोग गर्ने योजना व्यक्त गरेका थिए । तीनै तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो, र सहभागीहरूले तालिम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिँदै यस्ता तालिमहरूलाई निरन्तर र चरणबद्ध रूपमा सञ्चालन गरिनुपर्ने सुझाव दिएका थिए । सबै कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले गर्नुभएको थियो भने उपाध्यक्षद्वय श्री रमानाथ श्रेष्ठ, श्री राजेन्द्र शेरचन, महासचिव श्री दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष श्री प्रदीपमान प्रधान, सहकोषाध्यक्ष श्री नानीराज घिमिरे, महिला उद्यमी समिति सभापति श्री मिना गोपाली, वाणिज्य तथा उपभोक्ता समिति सभापति श्री प्रेम हरि मैनाली, रोजगारदाता समिति सभापति श्री सागर शाक्य लगायतका पदाधिकारीहरूको सक्रिय व्यवस्थापन, समन्वय तथा सहजीकरणमा तालिमहरू सफलतापूर्वक सम्पन्न भएको थियो ।