MRP सम्बन्धि छलफल कार्यक्रम

२०८२ असार २५ – नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था उल्लेख गर्दै डिलर, खुद्रा तथा थोक विक्रेताहरुले सम्पूर्ण वस्तुहरूमा अधिकतम खुद्रा मूल्य MRP सहितको लेबल अनिवार्य गर्ने र आगामी श्रावण १ गते देखी बृहतरुपमा बजार अनुगमन गर्ने सम्बन्धमा निजी क्षेत्रको धारणा बनाउन आवश्यक देखिएकोले यस संघको सचिवालय , कान्तिपथमा विभिन्न क्षेत्रका जिल्ला, नगर उद्योग वाणिज्य संघ तथा व्यवसायीक संस्थाहरुलाई निमन्त्रणा गरी “व्यावसायिक आवाज“ कार्यक्रममार्फत छलफल कार्यक्रम आयोजना गरिएको तथा परामर्श कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा भएको भेलाले सम्पूर्ण वस्तुमा एकैपटक अनिवार्य मूल्य नियन्त्रण लागू गर्नुको सट्टा जनतालाई अति आवश्यक हुने वस्तुहरू मात्र वर्गीकरण गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्न, विलासिताका वस्तुहरूमाMRP स्वेच्छिक राख्न, स्वदेशी उत्पादनको वास्तविक अवस्था, आयातित वस्तुको मूल्य निर्धारणमा हुने चुनौती र खुल्ला बजार प्रणालीको प्रभावलाई ध्यानमा राखी व्यवहारिक नीति अवलम्बन गर्न र अनुगमन कार्य तत्काल स्थगित गरी ऐन–नियम संशोधनसहित समावेशी छलफलमार्फत दीर्घकालीन समाधान खोज्नका लागी प्रेश विज्ञप्ती मार्फत वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र सम्बन्धित निकाय लाई ध्यानाकर्षण गरिएको थियो ।
ई–कमर्ससम्बन्धी तीनदिने तालिम – काठमाडौं उपत्यकाका तीन नगरपालिका – शंखरापुर , चन्द्रागिरी , र काठमाडौं महानगरपालिका

२०८२ जेष्ठ २८ देखी असार ०७ – यस संघले उद्योग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वरको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न तीन स्थान—शंखरापुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, र काठमाडौं महानगरपालिका—मा “ई–कमर्ससम्बन्धी तीनदिने तालिम”हरू सफलतापूर्वक सम्पन्न गरिएको थियो ।लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रविधिमैत्री बनाउँदै उनीहरूको व्यवसायलाई डिजिटल माध्यमबाट विस्तार गर्न, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, रोजगारी सिर्जनामा टेवा पुर्याउन र अनलाइन व्यापारमा संलग्न गराउन तालिमको आयोजना गरिएको थियो ।पहिलो तालिम २०८२ जेष्ठ २८–३० गते साक्वो रिसोर्ट, शंखरापुरमा शंखरापुर उद्योग वाणिज्य संघको विशेष सहकार्य सम्पन्न भयो, जसको उद्घघाटन नगरप्रमुख श्री रमेश नापितले गर्नुभयो भने उपप्रमुख श्री समिता श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष श्री राधाकृष्ण श्रेष्ठ विशेष अतिथि हुनुहुन्थ्यो । सो तालिमको समापन उपप्रमुख श्री समिता श्रेष्ठले गर्नुभएको थियो ।दोस्रो तालिम २०८२ असार १–३ मा चन्द्रागिरी नगरपालिका अन्तर्गत बलम्बुस्थित ‘चटामरी द नेवारी रेस्टुरेन्ट’मा सम्पन्न भयो, जसको उद्घघाटन नगरप्रमुख श्री घनश्याम गिरी र उपप्रमुख श्रीमती बसन्ति श्रेष्ठले गर्नुभएको थियो ।सो तालिमको समापन उपप्रमुख श्रीमती बसन्ति श्रेष्ठ ले गर्नुभएको थियो ।तेस्रो तालिम २०८२ असार ५–७ मा डिगम्बरा रिजेन्सी होटल, ज्याथा, काठमाडौं महानगरपालिका वडा नं. २७ मा सम्पन्न भयो, जसको उद्घघाटन उद्योग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वरका प्रमुख अधिकृत श्री यादवनाथ आचार्यले गर्नुभएको थियो । तीनै तालिमहरूमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका निवर्तमान अध्यक्ष श्री सिता कार्की र नेउवामहासंघ बागमती प्रदेशका घरेलु तथा साना उद्योग समिति सभापति श्री लक्ष्मी खनालको विशेष सहयोग थियो । तीन स्थानमा क्रमशः ७४, १०५ र ७३ जना सहभागीहरूले प्रशिक्षण प्राप्त गरे, जसमा वेबसाइट सञ्चालन, सामग्री अपलोड, अनलाइन भुक्तानी प्रणाली, तथा सामाजिक सञ्जालमार्फत व्यापार प्रवद्र्धन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सीप प्रदान गरियो । सहभागीहरू उत्साहित र सक्रिय देखिएका थिए र अधिकांशले तालिमबाट सिकेका सीपहरू तत्काल व्यवसायमा प्रयोग गर्ने योजना व्यक्त गरेका थिए । तीनै तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो, र सहभागीहरूले तालिम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिँदै यस्ता तालिमहरूलाई निरन्तर र चरणबद्ध रूपमा सञ्चालन गरिनुपर्ने सुझाव दिएका थिए । सबै कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले गर्नुभएको थियो भने उपाध्यक्षद्वय श्री रमानाथ श्रेष्ठ, श्री राजेन्द्र शेरचन, महासचिव श्री दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष श्री प्रदीपमान प्रधान, सहकोषाध्यक्ष श्री नानीराज घिमिरे, महिला उद्यमी समिति सभापति श्री मिना गोपाली, वाणिज्य तथा उपभोक्ता समिति सभापति श्री प्रेम हरि मैनाली, रोजगारदाता समिति सभापति श्री सागर शाक्य लगायतका पदाधिकारीहरूको सक्रिय व्यवस्थापन, समन्वय तथा सहजीकरणमा तालिमहरू सफलतापूर्वक सम्पन्न भएको थियो ।
Digital Marketing Awareness Program at Bhaktapur

२०८२ जेष्ठ ११ – यस संघ र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा भक्तपुर उद्योग वाणिज्य संघको सचिवालय ,व्यासीमा ९० जना घरेलु, साना तथा मझौला उद्यमी (SMES) हरूलाई डिजिटल मार्केटिङको बढ्दो महत्व , यसले व्यवसायमा ल्याउने अवसरहरू तथा डिजिटल मार्केटिङ र Social Media मार्केटिङ प्रयोग बारे विशेषज्ञहरूद्वारा व्यवहारिक जानकारी गराउँदै NCICK डिजिटल मेला २०२५ मा समेत सहभागी गराउन डिजीटल मार्केटिङ सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा यस संघका अध्यक्ष श्री उपाध्यक्ष श्री रमानाथ श्रेष्ठ , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कार्यसमिति सदस्य श्री प्रेमहरी मैनाली, भक्तपुर उवासंघका अध्यक्ष श्री रोशनीमैँया धौवञ्जा , नि.वर्तमान अध्यक्ष श्री शिव मानन्धर , कोषाध्यक्ष श्री शिव दुवाल , का.सदस्य श्री ऋषि श्रेष्ठ , सदस्य श्री रञ्जित मारेखु , नेउवामहासंघ बागमती प्रदेशको घरेलु तथा साना उद्योग समितिका सभापति श्री लक्ष्मी खनालले सहभागीता जनाउनुभएको थियो ।
Digital Marketing Awareness Program at Chandragiri

२०८२ बैशाख १६ – चतामरी द नेवारी रेष्टुरेन्ट , बलम्बु, चन्द्रागिरिमा यस संघले ५० जना घरेलु, साना तथा मझौला उद्यमी (SMES ) हरूलाई डिजिटल मार्केटिङको बढ्दो महत्व , यसले व्यवसायमा ल्याउने अवसरहरू तथा डिजिटल मार्केटिङ र Social Media मार्केटिङ प्रयोग बारे विशेषज्ञहरूद्वारा व्यवहारिक जानकारी गराउँदै NCICK डिजिटल मेला २०२५ मा समेत सहभागी गराउन भिजन क्लब इन्टरनेशनल र भिजन क्लब अफ काठमाडौँ को विशेष सहयोगमा १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरीएको थियो । सो कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री रमानाथ श्रेष्ठ , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कार्यसमिति सदस्य एवं महिला समितिका सभापति मिना गोपाली , सह सभापति श्री कविता मानन्धर , नेउवामहासंघ बागमती प्रदेशको घरेलु तथा साना उद्योग समितिका सभापति श्री लक्ष्मी खनाल र भिजन क्लब अफ काठमाडौँका तर्फ बाट स्वास्थ्य संयोजक श्री विष्णु बहादुर श्रेष्ठले सहभागीता जनाउनुभएको थियो ।
७३ औँ अन्तर्राष्ट्रिय विश्व भन्सार दिवस भन्सार जांचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रम

२०८१ माघ १० – नेउवामहासंघको सभाहल , टेकुमा ” Customs Delivering on its Commitment to Efficiency , Security and Prosperity ” भन्ने नाराकासाथ ७३ औँ अन्तर्राष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघले यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको सहकार्य र अर्थसचिव डा.रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भन्सार जांचपास एवं व्यापार सहजीकरण सम्बन्धी भन्सार विभाग र उद्योगी व्यवसायीहरु बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले भन्सार क्षेत्रमा व्यवसायीले भोग्नु परेका समस्या र सहजिकरणका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने व्यवसायीहरूले भन्सार सुधारका विषयमा सुझावहरु दिनुभएको थियो । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिनुभएको थियो । व्यवसायीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभुती गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने बताउनुभएको थियो । उद्योगी व्यवसायीहरुले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ति वस्तुलाई स्पष्ट गरी भन्सार दरहरुको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताउनु भएको थियो ।अर्थसचिव डा.रामप्रसाद घिमिरेले सरकारले निजि क्षेत्रको लगानीमा सहजिकरण गर्ने गरि नै नीतिगत सुधार गर्दै आइरहेको धारणा राख्नु भयो । उहाँले भन्सारको प्रमुख उद्देश्य राजश्व संकलन नभई व्यापार सहजिकरण र निर्यात प्रवद्र्धन नै भएको बताउनु भयो । “ देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी व्यसायीहरुलाई कसरी सहजिकरण गर्न सकिन्छ भनेर लागेका छौं । सरकारले नीतिगत सुधार पनि गर्दै आइरहेको छ । पछिल्ला नीतिगत सुधार पनि त्यसैको लागि आएका हुन । ” उहाँले भन्नु भयो । यस्तै उहाँले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसंग रहेकोले भारतसंगको व्यापारमा पनि समस्याहरु आउने गरेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा हुन लागेको नेपाल भारत “कस्टम म्युचुअल एग्रिमेन्ट” ले ती समस्याहरु समाधान हुने धारणा राख्नु भयो । अर्थसचिव डा. घिमिरेले अहिले विश्व परम्परागत व्यापारबाट आधुनिकतातर्फ गईरहेको सन्दर्भमा नयाँ पुस्तालाई व्यापार व्यसायमा प्रोत्साहन गर्नु पर्नेमा समेत जोड दिनुभयो ।सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्सारका सबै गतिविधिहरुले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यवसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताउनु भयो । “नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मूलूकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुँदैन, यसले समग्र मुलुकको आपूर्ति श्रृंखलालाई पनि व्यवस्थित गरी लगानी प्रवद्र्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको विषयलाई बिर्सनु हुदैन । ” उहाँले भन्नु भयो । अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्शन र टीएफए) अनुरुप नयाँ भन्सार विधेयक संसदमा टेवल हुन लागेको विषय सराहनायोग्य रहेको बताउनु भयो । यस्तै उहाँले प्रविधिसंगै भौतिक पुर्वाधारहरूको पनि व्यापार सहजीकरणमा महत्वपुर्ण योगदान रहने भएकोले निर्माणाधिन आइसिपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठुला र महत्वपूर्ण भन्सार कार्यालयहरुमा थप पुर्वाधारहरुको विस्तारमा समयमै ध्यान दिनु पर्ने बताउनु भयो । भन्सार विभागमा महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरि नै भन्सार प्रशासनले काम गरिरहेको बताउनु भयो । उहाँले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजिकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरि नै अगाडि बढिरहेको बताउँदै आर्थिक अनुशासनको पक्षमा सबै इमान्दार हुनु पर्ने धारणा राख्नु भयो ।
चौँथो वार्षिक साधारण सभा

२०८१ पौष २६ – एल्लो प्यागोडा होटल , कान्तिपथ, काठमाडौँमा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको अध्यक्षता तथा माननीय उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा यस संघको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त सभामा नेउवामहासंघका पूर्व अध्यक्ष श्री चण्डी प्रसाद ढकाल , नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष श्री दिपक मलहोत्रा ,नेउवामहासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठले विशिष्ठ अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो । त्यसैगरी नेउवामहासंघका कार्यकारीणी सदस्यज्यूहरु , जिल्ला नगर उद्योग वाणिज्य संघ अध्यक्ष , पदाधिकारी एवं कार्यसमिति सदस्यहरु , विभिन्न वस्तुगत तथा क्षेत्रगत संघसंस्थाका अध्यक्ष , पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले अतिथि आतिथ्यता ग्रहण गर्नु भएको थियो भने संघका सदस्यहरु , पत्रकारहरु व्यापक रुपमा सहभागी हुनुभएको थियो ।उक्त सभामा अध्यक्ष दिनेश श्रेष्ठले समाज, राज्य र सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा बदलाव हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । शुक्रबार काठमाडौंमा आयोजित संघको चौथो वार्षिक साधारणसभामा उहाँले सरकारले अपेक्षा गर्दा पनि निजी क्षेत्रले देशको अर्थतन्त्रमा निरन्तर योगदान गरिरहेको बताउनुभएको थियो । सरकारले कुनै लगानी नगर्दा पनि निजी क्षेत्रले व्यवसायबाट प्राप्त नाफाबाट २५ देखि ४० प्रतिशतसम्म आयकर बुझाइरहेको बताउँदै यस्तोमा निजी क्षेत्र कसरी नाफाखोरी र माफिया हुन सक्छ भनी प्रश्न गर्नुभएका थिए ।‘भन्सार, कर र राजस्व सरकारलाई बुझाएर व्यवसाय गरी हुने नाफाबाट सरकारलाई बिनालगानी आयकरका रूपमा २५ देखी ४० प्रतिशत को हिस्सेदार बनाई स्वआर्जन गर्ने वर्ग हो । राज्यको एकभन्दा बढी निकायमा दर्ता भएर काम गर्ने कसरी नाफाखोरी र माफिया हुन सक्छ ? समाज, राज्य र सरकारले हामीलाई हेर्ने दृष्टिकोण फरक होस् !’अध्यक्ष श्रेष्ठले नाफा हुँदा सबैलाई चित्त बुझाइसकेपछि अन्तिममा बचेको लिने र नोक्सानमा पनि सही समयका लागि धैर्य गर्न सक्ने वर्ग निजी क्षेत्र रहेको बताउनुभएको थियो ।‘निजी क्षेत्र भन्नेबित्तिकै आफैं काम गरी खाने वर्ग हो,’ ‘राज्यलाई कर र राजस्व, कामदारलाई रोजगार, बैंकलाइ ब्याज, घर/जग्गाधनीलाई बहाल दिने र नाफाबाट सबैलाई चित्त बुझाइसकेपछि अन्तिममा बाँकी रहे नाफाको रूपमा लिएर आफ्नो दैनिक खर्च कटाई बाँकी भए फेरि लगानी गर्ने, नोक्सान भए धैर्यपूर्वक सहेर राम्रो समय पर्खेर बस्ने साहस लिएको वर्ग हो ।’ बताउनुभएको थियो । अध्यक्ष श्रेष्ठले नियमसंगत रूपमा दर्ता भई कर तिरेर काम गर्छु भन्नेलाई सरकारले अनावश्यक दुःख दिन नहुने बरू नीतिगत सुधार गरेर सहजीकरण गरिदिनुपर्ने बताउनुभएको थियो । अन्यथा यसले गर्दा सानादेखि ठूला व्यापारीसम्म विस्थापित हुने अवस्था रहेको उनको भनाइ छ ।‘देशमा अहिले मागमै ह्रास आयो । आयात कम छ । अनि राजस्वमा कमी हुनु स्वाभाविक हो । तर राजस्व लक्ष्य जसरी पनि पाउनपर्छ भनी निर्देशन पाउने विचरा अधिकृतले के गरोस् !,’ उहाँले भने, ‘खुला सिमानाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न नसक्ने अनि दर्ता गरी कर तिरी काम गर्छु भन्नेमाथि शंकाका भरमा दुःख दिने, ५००% सम्म जरिवाना लिने ऐन बन्नुभएन । दस्तुरी बुझाएर आउने अनि दस्तुरी उठाउनका लागि बहाना निकाल्ने गर्नाले साना मात्र होइन ठूला व्यापारीसमेत विस्थापित हुने अवस्था भएको बताउनुभएको थियो ।उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको भूमिका अतुलनीय रहेको बताउनुभएको थियो ।उहाँले देशको अर्थतन्त्रलाई गति दिनमा संघको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । निजी क्षेत्रलाई सक्रियता बढाउन आग्रह गर्दै कहीँ केही समस्या भए सरकार त्यसको समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको थियो । अब तपाईंहरू सक्रिय रूपमा लाग्नुस् । व्यावसायीले उठाउँदै आएको विषयलाई अहिलेको सरकारले ध्यान दिएको छ,’ उहाँले भन्नुभयो , ‘तपाईंहरू अघि बढ्दै जानुस् । समस्या कहाँ छ हामीलाई भन्नुस् ।’साधारणसभामा संघले आगामी दिनमा व्यवसायको प्रवद्र्धन, नयाँ लगानीका अवसरको सिर्जना, र उद्योगी व्यवसायीहरूलाई अझ सशक्त बनाउन विभिन्न योजना अघि बढाउने घोषणा गर्यो। संघका अध्यक्षले निजी क्षेत्रको हितमा अझ बढी काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “संघले सरकार र निजी क्षेत्रबीचको पुलको रूपमा काम गर्दै अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुर्याइरहेको छ । आगामी दिनमा थप व्यवसायमैत्री वातावरण सिर्जना हाम्रो प्राथमिकता हुनेछ ।” साधारणसभामा सहभागी सदस्यहरूले संघको नेतृत्व र योगदानको प्रशंसा गर्दै उद्योगी व्यवसायीहरूको समस्या समाधानमा संघको सक्रिय भूमिकाको अपेक्षा गरेका थिए । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको चौँथो साधारण सभा व्यवसायी र सरकारबीच सहकार्यलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने महत्तवपूर्ण मञ्च भएको थियो ।
बजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम

२०८१ मंसिर १४ – यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठको सभापतित्व एवं वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री राजन पौडेलज्यूको प्रमुख आतिथ्यता साथै जिल्ला प्रशासन कार्यालय काठमाडौँ ,बजार अनुगमन शाखाका प्रशासकिय अधिकृत श्री दिपेन्द्र पौडेल , काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख श्री नुरनिधि न्यौपाने , राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष श्री प्रेमलाल महर्जन , उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष श्री माधव तिमल्सिनाका विशिष्ठ आतिथ्यता मा बजार अनुगमन–दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम एल्लो प्यागोडा होटल , कान्तिपथमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ , वस्तुगत संघका अध्यक्ष , प्रतिनिधिहरु र उद्योगी व्यवसायीहरुको भव्य उपस्थिति र अनुगमन निकाय बिच बृहत छलफल भएको थियो ।
विश्व लगानीकर्ता सप्ताह २०२४

२०८१ कार्तिक ०६ – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको सभापतित्व एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री महेश बरालज्यूको प्रमुख आतिथ्यतामा उद्योगी , व्यवसायी तथा लगानीकर्ताहरुमा पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्ड , नेउवामहासंघ , नेउवामहासंघ बागमती प्रदेश र नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४ ( सेयरबजार सम्बन्धी सचेतना कार्यक्रम ) एल्लो प्यागोडा होटल , कान्तिपथमा आयोजना गरीयो ।
नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal Tournament 2081 मा First Runner up उपाधि

२०८१ असोज ०३ – नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal Tournament 2081 मा यस संघ सहभागी भएको थियो । उक्त प्रतियोगितामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठको अध्यक्षतामा , कार्यसमिति सदस्य श्री शिशिर बहादुर गौत्तम , साधारण सदस्य श्री जित श्रेष्ठ , श्री सुनिल मर्हजन , श्री कौरब पाण्डे , श्री निहाल विक्रम राणा , श्री सरोज घिसिङ , श्री सुरज बस्नेत को टिम बनाई First Runner up उपाधि र श्री जित श्रेष्ठले High Scorer Award हासिल गर्न सफल भएको थियो । साथै प्रतियोगितामा टिमलाई साथ र हौसला बढाउन यस संघका वरिष्ठ उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , का.सदस्य श्री राजेन्द्र संग्रौला , का.सदस्य श्री प्रेम हरि मैनाली , का.सदस्य श्री सागर शाक्य उपस्थिती हुनु भएको थियो ।
होटल र्याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट स्वागत

२०८१ असोज ०३ – होटल र्याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट स्वागत गरीएको थियो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , का.सदस्य श्री उज्जवल जंग शाह र का.सदस्य श्री सागर शाक्य उपस्थिती हुनु भएको थियो ।